किताब ः यसरी नै आरू फुल्छ -कथा संग्रह) कथाकार ः विवश वस्ती प्रकाशक ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. संस्करण ः पहिलो, २०६५ मूल्य ः रु. ७० ।- विवश वस्तीको 'नखनिएको खाडल' -०५४), 'अब उकालो चढिँदैन' -०६०) पछिको यो तेस्रो कथाकृति हो । 'यसरी नै आरू फुल्छ' मा उनका पूर्वप्रकाशितसहित १९ वटा कथा समेटिएका छन् । कथा जनजीवन, समाज र राजनीतिसँग सम्बन्धित छन् । विसंगत राजनीतिलाई वस्तीले कथामा विभिन्न विम्ब र प्रतीकको सहायताले अभिव्यक्त गरेका छन् । लेखन सरल छ । र, सरलताको प्रभावबाट पाठकमा कथाले परिष्कारको माग गरेको अनुभूति हुन सक्छ । किताब ः सहिद हरि नेपाल स्मृति ग्रन्थ सम्पादक ः टंक श्रेष्ठ प्रकाशक ः सहिद हरि नेपाल स्मृति ग्रन्थ प्रकाशन समिति संस्करण ः पहिलो, २०६५ मूल्य ः रु. २०० ।- राजा वीरेन्द्रको जन्मोत्सव देशभरि मनाइँदै थियो होला त्यसदिन, जुनदिन राजनीति गरेको आरोपमा एकजना वामपन्थी कार्यकर्ताको हत्या गरियो । वि.सं. ०३६ को त्यो घटनामा मारिने सहिद थिए, हरि नेपाल । उनकै राजनीतिक जीवनका विभिन्न पाटाको स्मृति बटुलिएको यस ग्रन्थले वाम-राजनीतिका तत्कालीन गतिविधिको झल्को पनि दिन्छ । किताब ः किराँत राई जातिभित्रका केही विशेष संस्कृति लेखक ः चन्द्रकुमार हतुवाली प्रकाशन सहयोगी ः बान्तवा अनुसन्धान प्रतिष्ठान र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान संस्करण ः पहिलो, २०६५ मुल्य ः रु. १०० ।- किराँत राई जातिका विभिन्न पर्व, चाड, परम्परा, संस्कार र जीवनपद्धतिको जानकारी दिने किताब हो यो । मुन्धुममा आधारित धर्म, भाषा र विश्वास संस्कृतिमा चासो राख्ने सबैका लागि उपयोगी हुन सक्छ । यसमा सामान्य पूजाआजादेखि, लोकगीत, पौराणिक आख्यान र लोक आहानबारे पनि चर्चा गरिएको छ । किताब ः रोजाइ -उपन्यास)उपन्यासकार ः भूमिनन्द देवकोटा प्रकाशक ः मिडिया प्लान संस्करण ः पहिलो, २०६५ मूल्य ः रु. १०० ।- 'सतिसाल' पछि देवकोटाको यो दोस्रो उपन्यासकृति हो । जनयुद्धका भुक्तभोगी उपन्यासकारले पहिलो उपन्यासमा झैँ यसको कथावस्तु पनि राजनीतिक आन्दोलनकै सेरोफेरोमा बुनेका छन् । पुस्तकको भूमिकामा कवि श्यामलले लेखेका छन्- यसले कतिपय युद्ध प्रभावित समाजको नाडी नछामिएका, सामान्य प्रतिक्रियामूलक रिपोर्ताजभन्दा धेरै अघि बढेर नेपाली समाजको जटिलतालाई उधिन्ने र त्यसबाट युद्धको औचित्य स्पष्ट गर्ने प्रयत्न गरेको छ ।
No comments:
Post a Comment