अलबिदा नेत्री शैलजा आचार्य
2009-06-13,Saturday
नेपाली प्रजातान्त्रिक आन्दोलनकी योद्धा एवं कांग्रेस नेत्री शैलजा आचार्यको शुक्रबार बिहान ४ बजेर २५ मिनेटमा निधन भयो । लामो समयदेखि अस्वस्थ आचार्यको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबारदेखि उनलाई शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । मुटु, श्वास-प्रश्वासमा समस्यासहित नाडीको पल्स गुमेको अवस्थामा शिक्षण अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । अस्पतालले आचार्यको निधनको जानकारी दिँदा अस्पतालमा स्व. आचार्यसामु भाइ प्रदीप, बुहारी निता, सहयोगी शम्भु महर्जन र सुरक्षार्थ खटिएका वासुदेव पौडेल मात्र थिए । अस्पतालले आचार्यको निधनबारे जानकारी उपलब्ध गराएको तीन घन्टापछि मात्र कांग्रेस पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाट अस्पताल परिसरमा देखिए । त्यसैगरी ७:२४ मा कांग्रेस केन्द्रीय सदस्य चक्रप्रसाद बास्तोला, साढे सात बजे शेखर कोइराला त्यहाँ पुगे । ७:४० मा विनाविभागीयमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल पनि शिक्षण अस्पतालमा देखिए । खबर गरेको घन्टौंसम्म पनि पार्टी नेताहरू अस्पतालमा नदेखिँदा स्व. आचार्यका आफन्त खिन्न देखिन्थे । आचार्यको पार्थिव शरीरलाई नौ बजेसम्म शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो । त्यहाँ कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, कांग्रेसका तर्फबाट मन्त्री भएका सुजाताबाहेक सबै मन्त्रीहरू पुगेका थिए । ढिलै भए पनि अस्पताल परिसरमा कांग्रेस नेताहरू र कार्यकर्ताहरू आउनेक्रम जारी रह्यो । बिहीबार मात्र बेलायतबाट आएकी नेत्री आचार्यकी बहिनीकी छोरी गरिमा सबैभन्दा बढी भावविह्वल देखिइन् । गरिमा नेता चक्रप्रसाद बास्तोला अर्थात् स्व. आचार्यकी बहिनीज्वाइँकी छोरी भए पनि उनको रेखदेख र पालनपोषण नेत्री आचार्यले नै गर्दै आएकी थिइन् ।
सिंगो जीवन राजनीतिमा बिताएकी आचार्यको निधनबारे खबर दिएको तीन घन्टासम्म पनि अस्पताल पुगेनन् पार्टी नेताहरू
आचार्यको शव शिक्षण अस्पतालबाट कांग्रेस मुख्यालय सानेपा लगिएको थियो । त्यहाँ स्व. आचार्यप्रति अन्तिम श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता एवं शुभचिन्तकको ठूलो भीड लागेको थियो । कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेत्री आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको चारतारे झन्डा ओढाएका थिए । अस्पतालबाट पार्टी कार्यालयमा शव पुर्याउन केही ढिला भएपछि सभापति कोइरालाले कार्यालयमा नै प्रतीक्षा गर्नुपरेको थियो । कोइराला पार्टी कार्यालय १० बजे नै पुगेका थिए । निकै शोकाकूल देखिएका सभापति कोइरालाले शैलजालाई श्रद्धाञ्जली दिए । र, शवलाई एक फन्को घुमेर नजिकै राखेको पालमुनि बसेका थिए । उनले शैलजाको बारेमा केही बोल्ने जर्मको त गरे तर बोली अवरुद्ध भयो । त्यसपछि कोइराला त्यहाँबाट हिँडे । आचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राष्ट्रियता र प्रजातान्त्रिक आन्दोलनलाई ठूलो धक्का लागेको ठहर गरेको छ । बैठकले देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म आधा झन्डा झुकाइने र कार्यालय बन्द गर्ने तथा १३ औं दिनको पुन्यतिथिमा श्रद्धाञ्जली समारोह आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । आचार्यप्रति श्रद्धाञ्जली प्रकट गर्न पार्टी कार्यालय, सानेपामा प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा र सूर्यबहादुर थापा, एमाले अध्यक्ष झलनाथ खनाल, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री विजय गच्छदार, रक्षामन्त्री विद्या भण्डारी, एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै संवैधानिक निकायका प्रमुखहरूसमेतको उपस्थिति रहेको थियो ।आचार्यको शुक्रबार अपराह्न पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । स्व. आचार्यलाई भाइ प्रदीप आचार्यले दागबत्ती दिएका थिए ।
संघर्षपूर्ण जीवननिडर र मान्यताप्रति अडिग नेत्री शैलजा आचार्य वि.सं. १९९८ वैशाख २० गते मोरङको विराटनगरमा जन्मिएकी थिइन् । माता इन्दिरा र पिता पिनायकीप्रसाद उपाध्यायको पहिलो सन्तानका रूपमा जन्मेकी आचार्यको सिंगो जीवन राजनीतिक सेरोफेरोमै बित्यो ।संघर्षपूर्ण जीवनगाथा बोकेकी नेत्री आचार्यले पद्मकन्याबाट बिए तथा बनारस हिन्दू विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी थिइन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यदेखि उपसभापतिसमेत बनेकी नेत्री आचार्य मुलुकको पहिलो महिला उपप्रधानमन्त्रीसमेत बनेकी थिइन् । स्व. आचार्य बिपी कोइराला र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी आफ्नै भान्जी हुन् । लामो समयसम्म पार्टीको केन्द्रीय समितिमा रहेकी आचार्य ११औं महाधिवेशनबाट समेत केन्द्रीय समितिमा निर्वाचित भएकी थिइन् ।
नेत्री आचार्यको निधनपछि शोकाकूल भएका आफन्तजन
आचार्यले ७ फागुन ०१७ मा प्रजातन्त्र राजाले अपहरित गरेको विरोधमा पहिलोपटक तत्कालीन राजा महेन्द्रलाई काठमाडौंको टुँडीखेलमा कालो झन्डा देखाउने साहसिक कार्य गरेकी थिइन् । राजालाई कालो झन्डा देखाएकै कारण आचार्यले तीन वर्ष काराबासमा बस्नुपर्यो । जेलबाट निस्केपछि उनले भारतमा निर्वासित जीवन बिताइन् । तत्कालीन कांग्रेस सभापति बिपी कोइरालासँग निर्वासित जीवनमा नै उनी ०२४ मा प्रजातान्त्रिक समाजवादी युवकको संगठन डेमोक्रेटिक सोसलिस्ट युथ लिगको सभापति भएकी थिइन् । त्यसपछि उनी राजनीतिमा अरू सक्रिय भएर देखापरिन् । त्यति नै वेला नेत्री आचार्यले तरुण पत्रिकाको सम्पादनसमेत गरेकी थिइन् । ०३०/३१ मा भएको पञ्चायतविरोधी सशस्त्र संघर्षमा उनले महत्त्वपूर्ण योगदान पुर्याएकी थिइन् । ०३३ सालमा मेलमिलापको नीतिअन्तर्गत बिपी कोइराला, गणेशमान सिंह, खुमबहादुर खड्कालगायतका नेताहरूसँगै उनी पनि स्वदेश फर्किन् निर्वासनबाट । तर, तत्कालीन सरकारले उनीहरू सबैलाई गिरफ्तार गरी केही समय जेल हाल्यो । ०३६ सालको जनमतसंग्रह र ०४२ सालको सत्याग्रहमा पनि आचार्य त्यत्तिकै सक्रिय रहिन् । ०४६ को राजनीतिक परिवर्तनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेकी नेत्री आचार्य निष्ठाको राजनीति गर्ने र आफ्नो मान्यताप्रति अटल महिलाको रूपमा चिनिन्थिन् । प्रजातन्त्रको पुनर्वहालीपछिको आमनिर्वाचनमा मोरङ- ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी आचार्यले कांग्रेस नेतृत्वको बहुमतको सरकारमा कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् । झन्डै एक वर्ष मन्त्री बनेकी आचार्यले सरकारको कार्यशैलीप्रति असहमति जनाउँदै मन्त्रीपद परित्याग गरिन् । ०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ- ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेत्री आचार्य ०५५ मा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा उपप्रधानमन्त्रीका रूपमा सहभागी भएकी थिइन् ।नेपालको पहिलो उपप्रधानमन्त्रीसहितको जलस्रोत मन्त्रालयको जिम्मेवारी उनले सम्हालेकी थिइन् । ०५३ मा भएको कांग्रेसको नवौं महाधिवेशनपछि आचार्यले उपसभापति भएर काम गरेकी थिइन् । त्यतिवेला पार्टीभित्र उनको उच्च साख रहे पनि ०५६ को निर्वाचनमा भने उनी मोरङ- ७ बाट पराजित हुन पुगिन् । नेत्री आचार्य राजाको प्रत्यक्ष शासनको समयमा भने केही विवादित देखिइन् । 'राजा र दलहरू मिलेर जानुपर्छ' भन्ने उनको सार्वजनिक अभिव्यक्ति वामपन्थी खेमाबाट आलोचित भयो नै, पार्टीभित्रै पनि शैलजालाई 'राजावादी' भनेर कर्नरमा पार्न थालियो । यसले नेत्री आचार्यको राजनीतिक छवि क्रमशः गुमनामजस्तै बन्दै गयो ।०६२/६३ को आन्दोलनपछि गठन भएको गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले उनलाई नेपालका लागि भारतको राजदूत बनाएर पठाउने निर्णय गरेको थियो । तर, उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनले सो जिम्मेवारी भने पूरा गर्न सकिनन् । ०६४ पुसमा फोक्सोमा निमोनिया देखियो । उनी शिक्षण अस्पतालमा भर्ना भइन् । तर, डाक्टरहरूले उनको उपचार शिक्षण अस्पतालमा सम्भव नहुने बताएपछि उनलाई थप उपचारका लागि थाइल्यान्ड पुर्याइएको थियो । अचेत अवस्थामा थाइल्यान्डको बुमराङगाड अस्पताल पुर्याएकी महिला नेत्री आचार्यलाई नौ महिनापछि २३ फागुनमा नेपाल फर्काएर शिक्षण अस्पताल पुर्याएको थियो । केही दिनको उपचारपछि उनलाई २० वैशाखमा घर फर्काइएको थियो । तर, उनको गुमेको आवाज भने आउन सकेको थिएन । टे्रड युनियन कांग्रेसका अध्यक्ष लक्ष्मण बस्नेतको मित्रपार्कस्थित घरमा ८८ वषर्ीया आमा इन्दिरासँग बस्दै आएकी नेत्री आचार्यको सिंगो जीवन संघर्षपूर्ण थियो
रोग र औषधिबारे विवाद नेत्री आचार्यको आवाज मात्र होइन, उनलाई लागेको रोगका बारेमा समेत विभिन्न भनाइहरू सार्वजनिक भए । अल्जाइमर्स नामक रोगबाट पीडित भनिए पनि मानसिक तनाव कम गर्न प्रयोग हुने 'एन्टिसाइकेटिक' औषधिको निरन्तर सेवनका कारण नेत्री आचार्यको बोल्ने क्षमता गुमेको चिकित्सकहरूको दाबी थियो । नेत्री आचार्यलाई सो औषधि सेवन गर्न कसले सिफारिस गर्यो भन्ने पत्ता लाग्न सकेन नै ।'एन्टिसाइकेटिक'का कारण उनको मस्तिष्कमा नकारात्मक असर परेको उपचारमा संलग्न चिकित्सकले निष्कर्ष निकालेका थिए । नेत्री आचार्यले मानसिक तनाव बढी भएको वेलामा कुनै औषधि नियमित खाने गरेको स्वीकार गरेको उनलाई उद्धृत गर्दै उनका आफन्तले बताएका थिए । 'नाम उल्लेख नगर्नुहोस् है' भन्दै शैलजाका परिवारका एक सदस्यले २९ फागुनमा नयाँ पत्रिकासँग भनेका थिए, 'सो औषधि उहाँको उपचारमा संलग्न डाक्टरहरूले पनि नदिएको बताएका छन् ।' झन्डै डेढ वर्षअघि दिल्लीमा उपचार गरेर घर फर्किएपछि उनको कोठामा मानसिक तनाव कम गर्ने औषधिको पोका नै फेला परेको उनको पारिवारिक स्रोतले जानकारी दिएको थियो । परिवारका ती सदस्यले भने, 'नेपालमा उनको स्वास्थ्य सुधारोन्मुख हुँदाहुँदै उनलाई कसले उपचारका लागि दिल्ली पठायो, यो रहस्य त्यहीँबाट सुरु भएको हुनुपर्छ ।' तर, त्यो रहस्य अब खुल्छ कि खुल्दैन त्यो भने यसै भन्न सकिँदैन । 'बैंककमा एक न्युरो चिकित्सकले त्यही औषधिले बोली नियन्त्रण गर्ने दिमागको नसामा नकारात्मक प्रभाव पारेको बतायो,' नेत्री आचार्यकी छिमेकी तथा पूर्वराज्यमन्त्री डा. दुर्गा पोखरेलले भनिन्, 'स्पिच थेरापिष्टले आचार्यलाई बोलाउने प्रयास गर्दा बोली नै फुटेन । उसले पनि त्यही औषधिका कारण बोली बन्द भएको बतायो ।' राजनीतिक कारणले उनमा डिप्रेसन आएको सोही समयमा उनलाई त्यो औषधि कसैले सेवन गर्न दिएका थिए ।उनको सम्पूर्ण उपचार खर्च भने सरकारले बेहोर्यो ।