नेवा: स्वायत्त राज्यको माग गर्दै आयोजना गरिएको काठमाडौं उपत्यका बन्दका क्रममा एउटा माग र नाराले मलाई धेरै नै आकर्षित गर्यो। देशको राजधानीलाई काठमाडौंबाट सारेर भए पनि नेवा: स्वायत्त राज्य चाहिने मागले काठमाडौं उपत्यकामा बसाइ सरेर आएका नब आगन्तुक बाहेक अन्य धेरै नेपालीलाई खुशी तुल्याएको हुनु पर्छ र म पनि अन्य नेपाली जस्तै खुशी नभइ रहन सकिन। पृथ्वी नारायण शाहले “बलजफ्ति” राजधानी बनाएको यस उपत्यकाबाट राजधानी हटाउँदा यहाँका खास समुदाय खुशी नहुने कुरै भएन; त्यसमाथि आफ्नो क्षेत्रमा राजधानी बन्ला कि भन्ने आशा गरेका अन्य क्षेत्रका समुदायहरू पनि केहि पलका लागि नै भए पनि खुशी नै हुने छन्। भलै केन्द्रीय राजधानी एकठाउँ मात्र हुने भएकाले राजधानीका आशा गर्ने सबै क्षेत्रका जनताका भागमा भने राजधानी पर्ने छैन। त्यसो त देश संघीय राज्य प्रणालीमा जाने भएकोले राजधानीको कुनै कमी हुने छैन र आफुले चाहे अनुसार केन्द्रीय राजधानी, राजधानी, उप-राजधानी, सह-राजधानी यस्तै यस्तै नाम राखेर थुप्रै राजधानीहरू बनाउन सकिनेछ र यसका लागि ठूलो आन्दोलन गर्नुपर्ने छैन।आफ्नो जातीय, क्षेत्रीय, भाषिक तथा सांस्कृतिक पहिचानका लागि पनि काठमाडौंबाट राजधानी हटाउनु पर्ने माग आएको हुन सक्छ। यस्तो संवेदनशील कुरामा सरकारले खेलाँची गर्नु हुँदैन र काठमाडौंबाट राजधानी हटाउने प्रकृयातर्फ तुरून्त ध्यान दिनु पर्छ भन्ने मेरो मान्यता हो। आन्दोलन नै नगरी माग पूरा गरिदिने बानी बसाल्ने हो भने धेरै समस्याको हल हुने थियो। यस सन्दर्भमा पनि नेवार समुदायको मागप्रति पूर्ण: समर्थन गर्दै राजधानी सार्नका लागि म नेपाल सरकारसँग जोडदार अपील गर्छु र राजधानी सार्नका लागि आलटाल गर्दा आउन सक्ने परिणामप्रति सचेत हुन अनुरोध गर्दछु।तर, काठमाडौंबाट सारेको राजधानी कहाँ राख्ने? गोरखा, पाल्पा, मकवानपुर, इलाम, झापा, बीराटनगर, बीरगञ्ज, जनकपुर, नारायणगढ, बुटवल, दाङ, नेपालगञ्ज, महेन्द्रनगर वा पोखरा? अथवा मनाङ, मुस्ताङ वा सोलुतिर? त्यसो त कतिपयले नेपालमा राजधानी हुनु र नहुनुले कुनै अर्थ राख्दैन भन्ने तर्क राख्छन्। उनीहरूको मान्यता छ, नेपालको केन्द्रीय राजधानी दिल्ली हो र काठमाडौं त केवल राजधानी नाम गरेको छायाँ राजधानी मात्र हो। यदि यो तर्क ठीक हो भने नेवार समुदायले गरेको राजधानी हटाउने आन्दोलन निकै जायज छ। यो नाम मात्रको राजधानीमा बसेर दु:ख पाउनु भन्दा त आफ्नै राज्यमा बस्नु ठीक। नाम मात्रको छायाँ राजधानी जुनसुकै राज्यले लगे पनि नेवा राज्यलाई किन पो टाउको दुख्छ र?राजधानी बन्ने होडमा बेइजिङ पनि अगाडि सरेको कुरा सार्वजनिक भइसकेको सन्दर्भमा त काठमाडौंमा राजधानी हुनुको कुनै अर्थ छैन। बरू नेपालको राजधानीलाई Franchise गरिदिएर दिल्ली, बेइजिङ अझ हुन सक्छ भने वासिङ्टन र अन्य-अन्य मुलुकमा पनि राख्न पाए नेपाली उत्पादन “राजधानी” ले अन्तर्राष्ट्रिय स्तरमा नाम कमाउन पो सक्थ्यो कि? शायद नेपालका सन्दर्भमा सबैभन्दा बढि पढेलेखेका “बुद्धिजिबी”, “सभ्य” र देशका सबै क्षेत्रमा नेतृत्व गरिरहेका नेवार समुदायले गरेको आन्दोलन यसैका लागि पो हो कि? फेरि परापूर्वकालदेखि व्यापारमा निपुण मानिएका नेवार समुदायका लागि Franchise को अवधारणा नयाँ र नौलो पनि त होइन।
No comments:
Post a Comment